प्रेसिडेन्ट लिगः धम्बोझी र धादिङ समाज विजयी

नेपालगंज (खेलदैनिक) । लुम्बिनी प्रदेशको लिग च्याम्पियन धम्बोझी क्लब, बाँके र प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज, धादिङले जारी एन्फा प्रेसिडेन्ट लिगमा विजयी सुरुआत गरेका छन ।

मंगलबार भएको खेलमा धम्बोझीले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई १–० ले पराजित गर्यो । खेलमा धम्बोझीको लागि पुर्ण बहादुर गुरुङले ४२औं मिनेटमा एक मात्र निर्णायक गोल गरेका थिए ।

खेलमा पुर्ण म्यान अफ द म्याच समेत घोषित भए । उनलाई अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम नेपाल ओलम्पिक कमिटि सदस्य दिर्घ बहादुर केसी(कुमार)ले ५ हजार सहित पुरस्कृत गरे ।

त्यसैगरी अर्को खेलमा धादिङले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ को फराकिलो अन्तरले पराजित गरेको छ । धादिङको जितमा कप्तान अमिर श्रेष्ठले सर्वाधिक ४ गोल गरे । उनी खेलको म्यान अफ द म्याच समेत चुनिए । अमिरले खेलको १७, ३६, ६० र ६२ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै धादिङका लागि शिशिर लेखीले ६४, ७९ र ८२ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । थप दुई गोल भने उमेश राईले ८९ मिनेटमा र बिपिन कँडेलले २४औं मिनेटमा गरेका थिए । उता पराजित लेकालीको तर्फबाट कप्तान संगम शाहीले ५५औं मिनेटमा एक मात्र गोल फर्काएका थिए ।

प्रतियोगिता अन्तरगत चैत ४ गतेको खेल सैनिक फुटबल क्लब झापा र स्टार सिटी युवा क्लब कैलालीबिच हुनेछ । आउँदो १५ गतेसम्म चल्ने प्रतियोगितामा कुल सात टोलीहरुले सहभागिता जनाइरहेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कै आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...