अफ्रिकन रुटस सेमिफाइनलमा

हेटौडा (खेलदैनिक) । अफ्रिकन रुटस एसोसिएसन क्यामरुन जारी स्थानीय तह शहिद स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको क्वाटरफाइनल भिडन्ततर्फ बागमती युवा क्लब, सर्लाही माथि २–१ को जित निकाल्दै अफ्रिकनले अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको खेलको २५औं मिनटमा स्टेफन समिरले गोल गर्दै बागमतीलाई खेलमा शुरुवाती अग्रता दिलाएका थिए ।

तर खेलको अन्तिमतिर बागमती सम्हालिन सकेन । खेलको ९०औं मिनटमा बेससेकले अफ्रिकनका लागि बराबरी गोल फर्काउन सफल भए भने त्यसको केही मिनट लगतै लोइसले दोस्रो गोल थप्दै अफ्रिकी टोलीको जित सुनिश्चित गरे ।

खेलमा क्यामरुनी टोलीका मौसा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत चैत ४ गतेको पहिलो सेमिफाइनल खेल आयोजक मकवानपुर–११ र लिग च्याम्पियन मच्छिन्द्र क्लबबीच हुने आयोजकले जनाएको छ ।

चैत ६ गते दोस्रो सेमिफाइनलमा भने अफ्रिकनले दावेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्नेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल भने यहि आउँदो चैत ७ गतेका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...