एपिएफलाई हराउँदै बागमती क्वाटरफाइनलमा

हेटौडा (खेलदैनिक) । बागमती युवा क्लब, सर्लाही यहाँ जारी स्थानीय तह सहिद स्मृति गोल्डकप तेस्रो संस्करण २०७७ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ बागमतीले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

हेटौडा–१० स्थित फरेष्ट्री खेलमैदानमा भएको खेलको ३७औं मिनटमा बिक्रम धिमालको गोलबाट बागमतीले खेलमा अग्रता लिएको थियो । ७४औं मिनटमा सागर शाहीले बागमतीका लागि दोस्रो गोल थपे । जुन गोल निर्णायक पनि बन्यो ।

उता खेलको अन्तिमतिर बागमतीका खेलाडीले बक्स भित्र ह्याण्डबल गरेपछि एपिएफले पेनाल्टीको अवसर पाएको थियो । जसलाई रबि थिङले सहजै गोलमा परिणत गरे तापनि टोलीको हार भने टार्न सकेनन् ।

खेलको म्यान अफ द म्याच बागमतीका बिक्रम धिमाल घोषित भए । प्रतियोगिता अन्तरगत चैत २ गते सोमबारको क्वाटरफाइनल खेल संकटा क्लब र लिग च्याम्पियन मच्छिन्द्र क्लबबीच हुने आयोजकले जनाएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत ७ गतेका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...