पुलिसलाई हराउँदै संकटा क्वाटरफाइनलमा

हेटौडा (खेलदैनिक) । संकटा क्लब जारी स्थानीय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ को क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

शनिबार सम्पन्न प्रिक्वाटरफाइनल खेलतर्फ संकटाले विभागीय टोली नेपाल पुलिस क्लबलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

संकटाको जितमा विदेशी खेलाडी एकियो निर्णायक रहे । उनले खेलको ३१औं मिनटमा गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलको म्यान अफ द म्याच भने संकटा कै नीतिन थापा घोषित भए ।

संकटाले क्वाटरफाइनलमा चैत २ गतेका दिन लिग च्याम्पियन मच्छिन्द्र क्लबसँग खेल्नेछ । प्रतियोगिता अन्तरगत चैत १ गते सोमबारको खेल बागमती युवा क्लब, सर्लाही र नेपाल एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यहि चैत ७ गतेका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...