बिजयको ह्याट्रिकसहित आयोजक झरना फाइनलमा

सुन्दरहरैचा (खेलदैनिक) । बिजय भुजेलले ह्याट्रिक सहित चार गोल गरेपछि आयोजक झरना युवा क्लब शानदार जितका साथ प्रथम प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा झरनाले राष्ट्रिय जागृति क्लबमाथि ५–० को फराकिलो जित निकाल्दै उपाधि नजिक पुगेको हो । झरनाको जितमा बिजय भुजेलले ११, १५, ३५ र ५६औं मिनटमा गोल गर्दै ह्याट्रिक पनि पूरा गरे । त्यस्तै थप एक गोल भने ६०औं मिनटमा दोर्जे तामाङले गरेका थिए ।

खेलको ह्याट्रिककर्ता बिजय भुजेल नै म्यान अफ द म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद २१ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत फागुन ६ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल धरान सिटी फुटबल एकेडेमी र झापा फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

झरना युवा क्लब, सुन्दरहरैचा–९ मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने यहि फागुन ७ गते शुक्रबारका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...