लखनपुर फुटबल प्रतियोगिता चैत २५ गतेदेखि

रमेश समदर्शि, दमक, झापा  चैत १४

झापाको लखनपुरमा यही चैत २५ गतेदेखि वैशाख २ गतेसम्म पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

स्थानीय नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानले प्रतियोगिताको आयोजना गर्न लागेको हो । मोफसलमा रहेका खेलाडीको क्षमतालाई प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको प्रतिष्ठानका सचिव विष्णु आङ्देम्बले बताए ।

प्रतिष्ठानले सोमबार दमकमा पत्रकार सम्मेलन गर्दै दिवङ्गगत आमाबुवाको स्मृतिमा आयोजन गर्न लागेको प्रतियोगितामा झापाको सैनिक स्पोर्टिङ क्लब, आयोजक लखनपुर ११, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, सशस्त्र प्रहरीको विभागीय टिम लखनपुर, शरणामती फुटबल क्लबा, बिर्तामोड युनाइटेड क्लब, मोरङको उर्लाबारी फुटबल क्लब र सुनसरीको प्रहरी तालिम केन्द्र रानीसहित ८ टिमले सहभागिता जनाउने प्रतिष्ठानका अध्यक्ष गणेश आङ्देम्बले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार १११, दोस्रो हुनेले नगद ५० हजार १११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्ता प्रतियोगिताले मोफसलमा बसेर संघर्ष गरिरहेका खेलाडीको प्रतिभालाई चिनाउन मद्दत पुग्ने बरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’ले बताए ।

आदिवासी रङ्गशालामा हुने प्रतियोगिता सम्पन्न गर्न सात लाखभन्दा बढी खर्च हुने बताइएको छ भने प्रतियोगितामा १० लाखभन्दा बढी रकम उठ्ने र बाँकी रकम स्मृति कोष स्थापना गर्ने उद्देश्य रहेको प्रतिष्ठानका सचिव आङ्देम्वेले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...