एपिएफको जितमा भण्डारीको १२ गोल, आर्मी पनि सफल

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय महिला लिगतर्फ उपाधिको बलियो दावेदार तथा लिगलिडर नेपाल एपिएफ क्लबले सोमबार गोलको बर्षा गर्दै फराकिलो जित हात पारेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपिएफले चौदण्डीगढी नगरपालिका, उदयपुरमाथि २२–० को फराकिलो जित दर्ता गर्यो ।

एपिएफको जितमा सोमबार एकै खेलाडीको ट्रिपल ह्याट्रिक सहित तीन ह्याट्रिक बने । विभागीय टोलीका लागि स्टार फरवार्ड साबित्रा भण्डारीले १२ गोल गर्दै ट्रिपल ह्याट्रिक गरिन् । त्यस्तै अनु लामाले पनि ह्याट्रिक सहित पाँच गोल गरिन् भने अनिता बस्नेतले पनि थप तीन गोल सहित ह्याट्रिक गरिन् ।

त्यस्तै एपिएफको जितमा सरु लिम्बु र रेनुका नगरकोटीको नाममा एक–एक गोल रह्यो । प्लेयर अफ द म्याच ट्रिपल ह्याट्रिक गरेकी साबित्रा भण्डारी नै घोषित भईन् । यो जितसँगै ६ खेलबाट ६ जित निकालेको एपिएफ लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । उता एक खेल कम खेलेको चौदण्डीगढी भने अंकविहीन रुपमा पुछारमा छ ।

आर्मीको पनि सहज जित

महिला लिगमा अर्को विभागीय टोली त्रिुभवन आर्मी क्लबले पनि सोमबार सहज जित दर्ता गर्दै लिगतालिकाको दोस्रो स्थानमा उक्लियो । एन्फा कम्प्लेक्स मै भएको खेलमा आर्मीले बिराटनगर महानगरपालिका, मोरङमाथि ७–० को जित हात पार्यो ।

आर्मीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् । त्यस्तै बिमला चौधरीले दुई गोल गरिन् भने रश्मी घिसिङ र बिमला बिकको नाममा एक–एक गोल रह्यो । प्लेयर अफ द म्याच आर्मीकी ह्याट्रिककर्ता शर्मिला थापा घोषित भईन् ।

यो जितसँगै ५ खेलबाट १० अंक जोडेको आर्मी लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । र एक खेल बढी खेलेको एपिएफ भन्दा ८ अंकले पछाडी छ । उता पराजित बिराटनगर भने ५ खेलबाट ७ अंकका साथ चौथो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...