एकै खेलमा दुई ह्याट्रिकसहित आर्मीको गोल बर्षा

काठमाडौं (खेलदैनिक) । जारी राष्ट्रिय महिला लिगमा दावेदार मध्ये एक त्रिभुवन आर्मी फुटबल क्लबले शुक्रबार चन्द्रपुर नगरपालिका, रौतहट विरुद्ध १०–० को फराकिलो जित निकालेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलको तेस्रो मिनट मै बिमला चौधरीको गोलबाट आर्मीले खेलमा अग्रता लिएको थियो । त्यस्तै १५ र ३५औं मिनटमा शर्मिला थापाले लगातार दुई गोल गर्दै आर्मीको अग्रता तेब्बर बनाईन् ।

खेलमा एकपक्षीय जित निकालेको आर्मीका लागि ४४औं मिनटमा सपना लामाले चौथो गोल थपिन् । त्यस्तै दोस्रो हाफको ५१औं मिनटमा शर्मिला थापाले आर्मीका लागि पाँचौं गोल गर्दै आफ्नो ह्याट्रिक पनि पूरा गरिन् ।

त्यस्तै रश्मी घिसिङले ५९ र ६२औं मिनटमा लगातार दुई गोल गर्दै आर्मीको अग्रता ७–० को स्थितिमा पुर्याईन् । त्यसको दुई मिनट लगतै शर्मिला थापाले नै व्यक्तिगत चौथो तथा टोलीका लागि आठौं गोल थपिन् ।

उता ६७ र ८४औं मिनटमा रश्मी घिसिङले थप दुई गोल थप्दै आफ्नो ह्याट्रिक पनि पूरा गरिन् भने आर्मीलाई १०–० को फराकिलो जित दिलाउन पनि सफल भईन् ।

प्लेयर अफ द म्याच आर्मी की शर्मिला थापा घोषित भईन् । यो जितसँगै आर्मीले नेपाल पुलिस क्लब र वालिङ नगरपालिकामाथि दुई अंकको स्पष्ट अग्रता बनाएको छ । पुलिस र वालिङको समान ५–५ अंक छ ।

लिग अन्तरगत शनिबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा बिराटनगर महानगरपालिका, मोरङ र चौदण्डीगढी नगरपालिका उदयपुर भिड्दै छन् भने दोस्रो खेलमा वालिङ नगरपालिका, स्याङ्जा र दावेदार नेपाल एपिएफ क्लब आमने सामने हुँदैछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...