आयोजक रातो क्वाटरफाइनलमा

बेलबारी (खेलदैनिक) । आयोजक बेलबारी फुटबल क्लब (रातो) मोरङ जारी टुबोर्ग स्व. संजोग स्मृति नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको प्रिक्वाटरफाइनल खेलतर्फ बेलबारी (रातो) ले लेटाङ फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । बेलबारीको जितमा ४७औं मिनटमा बिक्रम धिमालले पहिलो गोल गरे । त्यस्तै ६७औं मिनटमा बिबेक पौडेलले दोस्रो गोल गर्दै आयोजकको जित पक्का गरे ।

खेलको म्यान अफ द म्याच पनि बेलबारी कै बिबेक पौडेल घोषित भए । उनलाई झापा–११ फुटबल क्लबका प्रशिक्षक युगल किशोर राईले नगद २५५५ रुपैयाँ सहित पुरस्कृत गरे ।

क्वाटरफाइनलमा बेलबारीले अब सताक्षीधाम, झापासँग पुष २१ गतेका दिन खेल्नेछ । प्रतियोगिता अन्तरगत पुष २० गते सोमबारको क्वाटरफाइनल खेल पथरी शनिश्चरे एफसी, पथरी र रारा एफसी, धनकुटा बीच हुने आयोजकले जनाएको छ ।

बेलबारी नगरपालिकाको संयोजन तथा बेलबारी फुटबल क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आउँदो पुष २५ गते शनिबारका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...