बिमल एक बर्ष मैदान बाहिर रहने निश्चित

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्ती मगर एक बर्ष मैदान बाहिर रहने निश्चित भएको छ । घुँडाको जटिल समस्याका कारण उनी बर्ष दिन मैदान बाहिर रहने निश्चित भएको हो । त्यस अवधिभर उनले आफ्नो फिटनेस र चोटमा सजगताका साथ ध्यान दिंदै उपचारमा लाग्नुपर्ने बताइएको छ ।

यो कुराको पुष्टी राष्ट्रिय फुटबल टोलीका टिम फिजियो आविष्कार पुडासैनीले गरेका छन् । स्मरण रहोस, नेपालले खेल्ने सम्भावित मैत्रीपुर्ण फुटबल म्याच र फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनौट खेलका लागि बिमल लामो समयपछि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किएका थिए ।

टोलीको प्रारम्भिक ५८ सदस्यीय टोलीमा परेका बिमलले त्यसैका लागि आवश्यक तयारी समेत शुरु गरेका थिए । राष्ट्रिय टोली हाल सातदोबाटो स्थित एन्फा कम्पलेक्समा आवश्यक तयारीका लागि प्रशिक्षणमा व्यस्त छ । जसको नेतृत्व प्रशिक्षक बालगोपाल महर्जनले गरिरहेका छन् ।

नेपालले ताइपेई, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी

फिफा विश्वकप र एसियन कप छनौटतर्फ नेपालले तीन घरेलु म्याच खेल्न बाँकी छ । नेपालले आगामी बर्ष (२०२१) को मार्च २५ तारीखका दिन चाइनिज ताइपेईसँग खेल्नेछ भने मार्च ३० तारीखका दिन अष्ट्रेलियासँग खेल्नेछ । त्यस्तै जुन ७ तारीखका दिन अन्तिम खेल जोर्डनसँग खेल्ने तय भइसकेको छ ।

छनौट प्रतियोगितातर्फ समूह बी मा रहेको नेपालले ५ खेलबाट ३ अंक जोड्दै समूहको चौथो स्थानमा छ । ४ खेलबाट १२ अंक जोडेको अष्ट्रेलिया शिर्ष स्थानमा छ भने ५ खेलबाट १० अंक जोडेको कुवेत दोस्रो स्थानमा छ । समान १० अंक जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा अंकविहीन ताइपेई पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...