नेपाली फुटबल टोली फिलिपिन्स जाँदै, यस्तो छ तयारी (फोटो फिचर)

खेलदैनिक, ११ चैत। नेपाली टोली एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्ससँग मार्च २८ (चैत १५) गते हुने ‘अवे’ खेलको लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोलीलाई शुक्रबार बिदाइ गर्ने कार्यक्रम राखेको छ ।

छनोटको पहिलो खेल फिलिपिन्सको राजधानी मनिलामा हुनेछ । एएफसी एसियन कप छनोटमा ग्वामले नखेल्ने भएपछि नेपालले छनोट खेल्ने मौका पाएको हो । ग्वामले छनोटबाट हात झिकेसँगै एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाललाई मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेको हैसियतमा छनोटमा अवसर दिएको हो । नेपाली राष्ट्रिय फुटबल टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अन्तिम तयारी गरिरहेका छन् । फिलिपिन्सविरुद्धको खेलका लागि नेपाली टोलीलाई मुख्य प्रशिक्षक ग्योतुकु कोजी, सहायक प्रशिक्षक राजुकाजी शाक्य र गोल किपर प्रशिक्षक उज्जवल श्रेष्ठको टोलीले प्रशिक्षण गराइरहेका छन् ।

फिलिपिन्स फिफा वरियतामा नेपालभन्दा ४६ औं स्थान माथि रहेको टोली हो । नेपालले पछिल्लो समय दोहामा भएको मैत्रीपूर्ण खेलमा फिलिपिन्ससँग ३–० को हार बेहोरेको थियो । यस्तै, नेपालले फिलिपिन्ससँग त्यसअघिको दुई मैत्रीपूर्ण खेलमा पराजित भएको छ । नेपालले सन् २०११ मा भएको मैत्रीपूर्ण ४–० र २०१४ मा भएको मैत्रीपूर्णमा पनि ३–० ले नतिजा गुमाएको थियो ।

तर नेपाली टोली यसपटक जित्ने लक्ष्यका साथ जाँदैछन् । नेपाली टिमको कप्तानमा विराज महर्जन छन् । फिलिपिन्सविरुद्धको खेलका लागि नियमित कप्तान अनिल गुरूङ परेका छैनन् । त्यस्तै, नियमित फरवार्ड नवयुग श्रेष्ठ चोटका कारण राष्ट्रिय टीमबाट बाहिरिएका छन् । यो पटक रोहित चन्द, जितेन्द्र कार्की र कर्ण लिम्बुले नेपाली टोलीमा पुनरागमन गरेका छन् ।

यस्तै, पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सबाट फर्किएर नेपाली टोलीमा सामेल भइसकेका छन् होम एण्ड अवेका आधारमा चल्ने छनोटअन्तर्गत नेपालले आगामी १४ नोभेम्बरमा घरेलु मैदानमा फिलिपिन्ससँग खेल्ने छन् । त्यसअघि नेपालले दोस्रो खेलमा आगामी जुन १३ मा यमनसँग घरेलु भूमिमा खेल्नेछ । त्यस्तै नेपालले ५ सेप्टेम्बरमा ताजिकिस्तानसँग पनि घरेलु मैदानमा खेल्दा १० अक्टोबरमा नेपालले ताजिकिस्तानसँग उसैको मैदानमा खेल्नेछ । यस्तै नेपालले २७ मार्च, २०१८ मा छनोटको अन्तिम खेलमा यमनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...