अन्तर्राष्ट्रिय मिडियामा थापा–तिमल्सिना विवाद

काठमाडौं (खेलदैनिक) । फिफाद्वारा दश बर्षका लागि प्रतिवन्धमा परेका एन्फाका पूर्व अध्यक्ष गणेश थापा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा फेरि नकरात्मक कार्यशैली कै लागि समाचार बनेका छन् ।

थापामाथि फिफाले विभिन्न अनियमितताको आरोपमा प्रतिवन्ध लगाएको थियो । रिपोर्टअनुसार सन् २००९ देखि २०११ सम्म थापाले फिफा कार्यसमितिको चुनावका बेला अर्को फुटबल पदाधिकारीसँग नियमविपरित आर्थिक लेनदेन गरेको आरोप लागेको थियो ।

त्यतिबेला फिफाले अन्य विभिन्न कारणले दोषी पाइएपछि थापामाथि प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । यद्यपि थापा हालैको केहि दिन यता हाम्रो खेलकुद डटकमका सम्पादक तथा वरिष्ठ पत्रकार प्रकाश तिमल्सिनासँगको विवादमा तानिएका छन् ।

तिमल्सिनाले समाचारका लागि थापासँग फोन वार्ता गर्दा उनीमाथि अभद्र व्यवहार भएको खबर बाहिर आएको थियो । त्यतिबेला थापाका छोरा अभिषेक थापाले पनि वरिष्ठ पत्रकार तिमिल्सनामाथि अभद्र व्यवहार गरेको बताइएको थियो ।

यो घट्नालाई लिएर नेपाल खेलकुद पत्रकार मञ्चले पनि प्रेस विज्ञप्ती निकाल्दै कडा निन्दा गरेको थियो । यसबारे सामाजिक सञ्जालमा पछिल्लो समय सक्रिय रहेका गणेश थापाले आफ्नोतर्फबाट स्पष्टोक्ति दिने प्रयास गरे तापनि उनी फेरि चर्चा कै केन्द्र बनेका छन् ।

अहिले आएर थापाबारे एएफसी र फिफा माझ लोकप्रिय रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम इनसाइडवल्र्डफुटबलले पनि यो विवादाबारे खबर प्रकाशित गरेको छ । यो खबर प्रकाशितसँगै थापामाथि फेरि एएफसी र फिफाको नजर जाने निश्चित छ ।


प्रतिक्रिया दिनुहोस

Loading...