करोडौंको लगानीमा झापाले फुटबल एकेडेमी सञ्चालन गर्ने

झापा (खेलदैनिक) । नेपाली फुटबलको उर्बर भूमिका रुपमा रहेको झापामा फुटबल एकेडेमी सञ्चालन हुने भएको छ । मोफसलमा आफ्नो फरक पहिचान बनाएको झापा–११ फुटबल क्लबले एकेडेमी सञ्चालन गर्न लागेको हो ।

झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मलेनको आयोजक गरी क्लबका अध्यक्ष जल कुमार गुरुङले एकेडेमी सञ्चालनबारे जानकारी गराएका हुन् ।

अध्यक्ष गुरुङका अनुसार एकेडेमी सञ्चालनका लागि प्रशिक्षक, खेलाडी तथा प्राविधिकहरुसँगको आवश्यक छलफल र परामर्श पश्चात् नै निर्णय लिइएको बताए । उनका अनुसार पाँच करोडको लगानीमा एकेडेमी सञ्चालन गरिनेछ ।

अध्यक्ष गुरुङले एकेडेमी सञ्चालनमा आएपछि उत्कृष्ट स्थानीय खेलाडीहरु उत्पादनमा थप टेवा पुग्ने बताए । साथै विभिन्न राष्ट्रय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागिता जनाउँदा खेलाडीहरुको कमी भएर बाहिरी खेलाडीहरु खोज्नुपर्ने समस्याबाट पनि मुक्ति मिल्ने बताए ।

स्मरण रहोस, एकेडेमी सञ्चालनका लागि प्रशिक्षकहरुको भूमिकामा झापा कै प्रवेश कटुवाल र युगलकिशोर राईको नाम अघि सारिएको छ । एएफसी ए लाइसेन्स प्राप्त यी प्रशिक्षकद्वय झापा–११ कै पूर्व खेलाडी समेत हुन् ।

झापा कै अनुभवी प्रशिक्षकद्वारा खेलाडी उत्पादनमा पनि राम्रो र सकरात्मक प्रभाव पर्ने बताउँदै अध्यक्ष गुरुङले स्थानीय प्रशिक्षकले नै स्थानीय खेलाडी र माहौलको राम्रो मुल्यांकन गर्न सक्ने बताए ।

प्रशिक्षक कटुवालले आफ्नै प्रशिक्षकीय जिम्मेवारीमा मच्छिन्द्र क्लबलाई गत बर्ष सम्पन्न शहिद स्मारक ए डिभिजन लिगको उपाधि जिताएका थिए । उता प्रशिक्षक राईले बी डिभिजन क्लब बाँसबारी क्लबको जिम्मेवरा िसम्हालेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...