कृष्ण सिन्जाली, काँकरभिट्टा, खेलदैनिक
मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप २०७३ दोस्रो संस्करणको आय ब्यय विवरण सोमबार सार्वजनिक गरिएको छ ।
काँकरभिट्टा फुटबल ट्रैनिङ् सेन्टरले गत पुस १६ देखि २३ गतेसम्म काँकरभिट्टा माविको खेल मैदानमा सञ्चालन गरेको प्रतियोगिताको आय ब्यय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
प्रतियोगिता आयोजक सेन्टरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सेन्टरका कोषाध्यक्ष पेमा नोबु शेर्पाले कुल ३९ लाख २३ हजार ४ सय ६३ रुपैयाँ आय र ३१ लाख ८७ हजार ८० रुपैयाँको ब्यय प्रस्तुत गरेका छन् ।
कोषाध्यक्ष शेर्पाद्धारा प्रस्तुत आय ब्यय प्रतिवेदनमा ७ लाख ३६ हजार ३ सय ८३ रुपैयाँ बचत रहेको उल्लेख छ ।
सो रकम सेन्टरले प्रत्येक वर्ष आयोजना गर्दै आएको सिटी लिग फूटबल प्रतियोगिता, अन्तर मावि स्तरीय, वडा स्तरीय प्रतियोगिता र सेन्टरले उत्पादन गरेका साना खेलाडीहरुलाई खेलकूद सामग्री खरिदमा खर्च हुने सेन्टरका अध्यक्ष मीनबहादुर बस्नेतले बताए ।
उनका अनुसार सेन्टरले आउँदो तेस्रो गोल्ड कप प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरी प्रतियोगितालाई थप ब्यवस्थित रुपमा आयोजना गरिनेछ ।
सम्मेलनमा प्रतियोगिता सहयोग समितिका सदस्य राजु कार्की, मेची फूटबलल क्लवका कोषाध्यक्ष कर्णबहादुर थापा र एन्फा प्रशिक्षक दीपक कार्कीको उपस्थिति रहेको थियो ।
काँकरभिट्टा भेट्रान फूटबल क्लवका अध्यक्ष तथा प्रतियोगिता सहयोग समितिका सल्लाहकार संयोजक गंगालाल गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहयोग समिति सदस्य शेरबहादुर बस्नेत (सुन्दर) ले गरेका थिए ।