एन्फाद्वारा आर्मी मुख्यालयमा रहेको चेन्जिङ रुमहरुको स्तरोन्नति

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल आर्मीको मुख्यालयमा रहेको फुटबल मैदानको दुई चेन्जिङ रुम तथा रेफ्री चेन्जिङ रुमको मर्मत सम्भार र स्तरोन्नति गरेर शुक्रबार आर्मीलाई हस्तान्तरण गरेको छ ।

कुल १५ लाखको खर्चमा स्तरोन्नति र मर्मत सम्भार गरिएको उक्त भौतिक पूर्वाधारहरु शुक्रबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले एक कार्यक्रमका बीच प्रधानसेनापति पुर्ण चन्द्र थापालाई हस्तान्तरण गरे ।

पहिलो चरणका रुपमा एन्फाले २० दराज जडान गरेको छ भने दुई फिजियोथेरापी कोठाको मर्मत सम्भार गरेको छ । त्यस्तै फ्रीज र ऐनाहरु समेत खेलाडीहरुको चेन्जिङ रुममा उपलब्ध गराइएको छ ।

त्यति मात्र नभएर एन्फाले अन्य फर्निसिङ जडान कार्यहरु समेत सम्पन्न गरेको छ । साथै कार्पेट मर्मत तथा रंगरोगनका कार्यहरु पनि सम्पन्न गरिएको एन्फाले जनाएको छ ।

त्यसैगरी एन्फाले दोस्रो चरणको कार्यका रुपमा प्लेयर बक्स निर्माण गर्नुका साथै पारापिटमा सिटहरु जडान गर्ने समेत बताएको छ । एन्फाले सोही किसिमको स्तरोन्नति सशस्त्र प्रहरीको मुख्यालयमा समेत गर्ने बताएको छ ।

रिपोर्टअनुसार एन्फाले उक्त मैदानहरु आउँदै गरेको फिफा विश्वकप छनौट तथा एएफसी एसियन कप छनौटका खेलहरुको क्रममा अभ्यास मैदानका रुपमा प्रयोग गरिने बताइएको छ ।

स्मरण रहोस, छनौट प्रतियोगितातर्फ नेपालले आगामी अक्टुबर र नोभेम्बरमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई विरुद्ध घरेलु मैदानमा खेल्दैछ । जुन खेलहरु दशरथ रंगशालामा हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...