एएफसी यु-२३ च्याम्पियनसिप छनोट: नेपाल समूह डी मा

खेलदैनिक / चीनमा सन् २०१८ मा  हुने एएफसी यु-२३ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।मलेसियामा रहेको एशियाली फुटबल महासंघ एएफसीको कार्यालयमा शुक्रबार भएको ड्रमा नेपाल उज्वेकिस्तान, लेबनन र युएई रहेको वेस्ट जोनतर्फ समूह ‘डी’मा परेको हो ।

यस समूहको छनोट खेल युएइमा हुनेछ। समूह ‘डी’को खेल जुलाई १९ देखि २३ तारिखसम्म हुने छ । छनोट चरणमा नेपाल पट फोरमा रहेको थियो। नेपालले समूहको आफ्नो पहिलो खेल युएईसँग जुलाई १९, उज्वेकिस्तानसँग जुलाई २१ र लेवनानसँग जुलाई २३ मा खेल्नेछ ।

यस्तै एसियाली फुटबल महासंघ (एएफसी) मा आवद्ध का ४० सदस्य राष्ट्र छनोट चरणमा सामेल थिए। त्यसमध्ये वेस्ट र इस्ट जोनमा समान २० टीमलाई राखिएको छ। सहभागी टीमलाई १० समूहमा विभाजन गरिएको छ। समूह चरणको खेलपछि प्रत्येक समूहको विजेता अन्तिम चरणको लागि छनोट हुनेछ। त्यस्तै १० समूहमध्ये उत्कृष्ट ५ उपविजेताले पनि अन्तिम चरणमा स्थान बनाउनेछन्। यदी आयोजक चीनले छनोट समूहमा भाग लिएको खण्डमा र चीन समूह विजेता तथा उपविजेता मध्ये एक भएमा उपविजेता बन्ने छैटौं टीमले पनि अन्तिम चरणमा स्थान बनाउनेछ।

नेपालको समूहमा रहेको युएई पछिल्ला दुवै संस्करणमा क्वाटर फाइनलसम्म पुगेको थियो । उज्वेकिस्तान पनि पछिल्ला दुई वटा संस्करणमा छनौट भएको थियो । तर २३ वर्ष मुनिको एशिया कपमा उसको यात्रा समूह चरणबाट अघि बढ्न सकेको छैन । सन् २०१३ मा काठमाडौंमै भएको छनोटमा नेपालले बंगलादेशलाई मात्र हराएको थियो भने जोर्डन, उज्वेकिस्तान र यमनसँग पराजित भएको थियो।

यस्तै २०१६ मा इरानमा भएको छनोटमा नेपाल आयोजक इरानसँगै साउदी अरेबिया, प्यालेस्टाइन र अफगानिस्तानसँग पराजित भएको थियो।


प्रतिक्रिया दिनुहोस

Loading...