समिक्षाको सबै उपचार खर्च एन्फाले बेहोर्ने

काठमाडौं (खेलदैनिक) । बेलका नगरपालिका–५ उदयपुरकी महिला फुटबल खेलाडी समिक्षा मगरको सबै उपचार खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेहोर्ने भएको छ ।

एन्फाले यसअघि नै मगरको उपचारका लागि भनेर २५ हजार सहयोग गरेको थियो । यद्यपि आइतबार मात्र एन्फाका प्रवक्ता किरन राईले समिक्षाको उपचारमा लाग्ने सबै खर्च एन्फाले बेहोर्ने बताए ।

उता एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले पनि समिक्षाको उपचार खर्च एन्फाले बेहोर्ने स्पष्ट पारे । साथै उनले समिक्षाको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे । खेलाडीको उपचार खर्चमा एन्फा गम्भिरताका साथ नलागेको भन्दै सबैतिरबाट आलोचना हुन थालेपछि प्रवक्ता राईको घोषणा बाहिर आएको हो ।

गत बैशाख १३ गते आँखामा गम्भिर चोट लागेपछि समिक्षालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । तर, त्यहाँ उनको आँखामा गम्भिर चोट लागेको भन्दै बिराटनगर स्थित आँखा अस्पताल पुराइएको थियो ।

घरायसी कामकै बेला ढुंगाले लाग्दा समिक्षाको दाँया आँखामा गम्भिर चोट पुगेको थियो । कमजोर आर्थिक अवस्था भएकी समिक्षाको परिवारलाई उनको उपचार खर्च जुटाउन गाह्रो भएपछि विभिन्न संघसंस्था, फुटबल प्रशिक्षक, राष्ट्रिय खेलाडी तथा फुटबल समर्थकहरुले पनि आर्थिक सहयोग गर्न थालेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...