इटहरी गोल्डकप: काँकड्भिट्टाले जित्यो, सशस्त्र प्रहरी बल पूर्वाञ्चल पराजित

इटहरी, चैत ३ / काँकड्भिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाले एघारौँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधी जितेको छ । सशस्त्र प्रहरी बल पूर्वाञ्चललाई १–० गोल अन्तरले हराएर काँकड्भिट्टाले उपाधी जितेको हो । राष्ट्रिय जागृती क्लबको आयोजनामा भएको प्रतियोगितामा एक विदेशीसहित ८ टिमको सहभागिता रहेको थियो ।

काँकड्भिट्टालाई उपाधी दिलाउन पिटरले गोल गरे । ८० मिनेटमा छोट्याइएको खेलको ४४ औँ मिनेटमा पिटरले गरेको एक गोल नै खेलमा निर्णायक बन्यो । अधिकांश झापा ११ बाट खेल्ने खेलाडी लिएर मैदानमा उत्रिएको काँकड्भिट्टाले सुरुदेखि नै आक्रमण गर्यो । 

अघिल्लो संस्करणको उपाधी पनि काँकड्भिट्टाले नै उचालेको थियो । उपाधीसँगै काँकड्भिट्टाले दुई लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता सशस्त्र प्रहरी बल पूर्वाञ्चलले एक लाख रुपैयाँ पाएको छ ।

खेलको म्यान अफ द म्याच फाइनल खेलका गोलकर्ता पिटर भए । यसैगरि प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि काँकड्भिट्टाकै श्यामसुन भए । उनले प्रतियोगिता भर तीन गोल गरे । यसैगरि सर्वोत्कृष्ट खेलाडी काँकड्भिट्टाका नगेन लिम्बु भए । उनले ३२ इन्चको टेलिभिजन प्राप्त गरे । इटहरीका उदयमान खेलाडी भने विमल मगर भए । उनलाई २१ इन्चको टेलिभिजन प्रदान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...