बाँके, चैत ३ / रुपन्देही ११ ले दोस्रो नेपालगन्ज गोल्डकपको उपाधी जितेको छ । बिहीबार भएको फाइनलमा संकटा क्लबलाई सडन डेथमा १–१(५–६) ले पराजित गर्दै रुपन्देहीले बर्षको दोस्रो उपाधि जितेको हो ।
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । ६५ मिनेटमा पेनाल्टिबाट संकटाले अग्रता लिएपनि ८९ औँ मिनेटमा रुपन्देहीले बराबरी गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । रुपन्देहीका खेलाडीले पेनाल्टी बक्समा फाउल हानेपछि संकटाले पेनाल्टी पाएको थियो । शिव सुवेदीले खेल सकिन १ मिनेट बाँकी रहँदा बराबरी गोल गरेपछि रुपन्देही खेलमा फर्केको थियो ।
प्रतियोगिताको विजेता रुपन्देहीले पाँच लाख र उपविजेता संकटाले साढे दुई लाख रुपैयाँ पुरस्कार पाएका छन् । रुपन्देहीका अमर डंगोल प्लेरयर अफ दी टुर्नामेन्ट घोषित भए। उनले एक थान मोटरबाइक हात पारे।
यस्तै व्यक्तिगत विधातर्फ संकटाका अजय महर्जन बेस्ट गोलकिपर, माउसा बेस्ट डिफेण्डर, मार्टिन बेस्ट फरवार्ड तथा सल्यान खड्गी बेस्ट कोच घोषित भए भने रुपन्देहीका गौरव मगर बेस्ट मिडफिल्डर चुनिए।