नजिकबाट प्रवेश कटुवाल

रमेश समदर्शी
बिर्तामोड, चैत १ । झापा ११ फुटबल क्लबका कप्तान प्रवेश कटुवाल मङ्गलबार औधी खुसी देखिन्थे । हुन पनि खेल जीवनको दुई दशकपछि पाएको सफलताले उनलाई खुसी तुल्याएको थियो । झापा ११ एफसीले उनलाई ‘लाइफ टाइम अचिभमेन्ट’को अवार्ड दिँदा अन्य खेलाडीमा पनि उत्साह भरिएको पाइन्थ्यो ।

२०३६ साल माघ १२ गते पिता देवीबहादुर र माता इन्द्रमाया कटुवालको कोखबाट झापाको सैनिक बजारमा जन्मिएका प्रवेशको फुटबल करियर २०५०÷०५१ सालदेखि सुरु भएको हो । कुनै समय विङ्गरका रुपमा खेलेका प्रवेश पछिल्लो समय मिडफिल्डमै जमिरहेका छन् ।

झापामा फुटबल खेलका लागि चर्चित सैनिकमा उनको बाल्यकाल बित्यो । उनले यो ठाउँ र फुटबल खेल्न दुवै छाडेका छैनन् । सैनिक फुटबल क्लबबाट फुटबल खेल्न सुरु गरेका उनले आधा दर्जनजति ए डिभिजन क्लबबाट देश र विदेशमा खेलिसकेका छन् । तर, उनको खेल जीवन एकैपटक राष्ट्रिय क्लबबाट भएको भने होइन ।

२०५३ सालमा सम्पन्न १६ वर्षमुनिको विद्यालयस्तरीय कोकाकोला फुटबल टिममा झापाबाट सहभागिता जनाएका प्रवेशले अहिले जिल्लामा निरन्तरता दिइरहेका छन् । ‘ए डिभिजन लिग चाहिँ न्यूरोड टिम (एनआरटी)बाट सुरु गरेको हो’, प्रवेशले भने । २०५६ सालमा एनआरटीमा आवद्ध भएका उनी एक वर्षपछि ग्यालेक्सियन क्लबमा पुगे । त्यसपछि थ्रीस्टार क्लबमा आवद्ध हुन पुगेका उनले त्यहाँ चार वर्ष खेले ।

‘थ्रीस्टारबाट खेल्दा एएफसी प्रेसिडेन्ट कपमा खेलेँ’, उनले भने, ‘त्यतिखेर थ्रीस्टार लिग च्याम्पियन पनि भएको थियो ।’ थ्रीस्टारमा अनुबन्धित भएको चार वर्षपछि उनी अर्को लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबमा आवद्ध भए । उनले त्यस क्लबबाट पनि एएफसी च्याम्पियन कपका लागि खेले मलेसियामा ।

उनी मनाङमा एक वर्षभन्दा बढी बसेनन् । त्यसपछि उनको फुटबल यात्रा रानी कर्नर टिम (आरसीटी)बाट भयो । उनले त्यहाँ पनि चार वर्ष बसेर विभिन्न फुटबल प्रतियोगिता खेले । झापा ११ एफसीमा अनुबन्धित हुनुअघि उनी मछिन्द्र क्लबमा आवद्ध थिए । मछिन्द्रबाट पनि उनले चार वर्ष खेलेको अनुभव छ । एनआरटीमा विङ्गर प्लेयरका रुपमा प्रवेश गरेका उनी ग्यालेक्सीबाट ए डिभिजन लिग खेल्दा उनलाई मिडफिल्डमा रोजिएको थियो ।

प्रवेशले नेपालमा मात्र पनि खेलेनन् । उनले देशका लागि विदेशमा पनि फुटबल खेलेका छन् पटक–पटक । सन्् १९९९ बाट प्रवेशले अन्तर्राष्ट्रिय फुटबलमा सहभागिता जनाएका थिए । १६ वर्षमुनिको उमेर समूहमा पहिलोपटक उनले नेपालको टिमबाट एएफसी कपमा स हभागिता भएका थिए । उनको टोली फाइनलसम्म पुगेको थियो । त्यस्तै, सन् २००० को सेप्टेम्बरमा नेपालको प्रतिनिधित्व गर्दै उनले भियतनाममा पनि यु–१६ बाट खेले त्यसमा पनि नेपाल फाइनलमा पुगेको थियो ।
सन् २००२ मा भारतको कोलकात्तामा सम्पन्न एयरलाइन्स कप, २००३ मा सिक्किमको गभर्नस कप, २००३ मै ओलम्पिक क्वालिफाइ राउन्डको म्याच खेले दुई पटक ‘होम एन्ड अवे’को आधारमा ।

त्यस्तै, २००४ मा नवौँ साफ गेम खेल्न उनी पाकिस्तान गए भने २००५ मा थ्रीस्टारबाट एएफसी प्रेसिडेन्ट कप खेल काठमाडौँमा । त्यसको २ वर्षपछि मनाङबाट उनले मलेसियामा आयोजित एएफसी प्रेसिडेन्ट कपमा सहभागिता जनाएका थिए । अहिले झापाबाट उनले भारतका विभिन्न राज्यमा आयोजित प्रतियोगितामा निरन्तर सहभागिता जनाइरहेका छन् । गएको सिजनमा मात्र झापा ११ सिक्किममा आयोजित ३६औँ गभर्नस कपको फाइनलमा पुगेको थियो ।

बी लेभलको प्रशिक्षकको कोर्ष पूरा गरिसकेका प्रवेशको लक्ष्य ए लेभलको कोर्ष गर्ने रहेको छ । ‘डेढ वर्षअघि बी लेभल पास गरेको हो’, उनले भने, ‘अब ए लेभलको गर्ने हो, बी लेभल सकेको दुई वर्ष समय लाग्दोरहेछ, कोर्ष खुलेपछि लिन्छु ।’


प्रतिक्रिया दिनुहोस

Loading...