पूर्वाञ्चल गोल्डकपका विजेतालै अझै पुरस्कार रकम पाएनन्

काठमाडौं (खेलदैनिक) । चार महिना अघि अर्थात कार्तिक २५ मा सम्पन्न अन्नपुर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप फुटबल प्रतियोगिताको विजेता टोलीहरुले पुरस्कार रकम नपाएको खबर बाहिर आएको छ ।

प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब र चर्च ब्वाईज युनाइटेड भिडेका थिए । फाइनलमा आर्मीले चर्च ब्वाईजलाई २–० ले हराउँदै उपाधि जितेको थियो ।

जायोन स्पोर्टस क्लब, बिर्तामोडको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेतालाई १२ लाख ५० हजार र उपविजेतालाई ६ लाख २५ हजार पुरस्कार रकमको घोषणा गरिएको थियो ।

यद्यपि इजलास डटकममा प्रकाशित खबरअनुसार फाइनलमा पुगेका आर्मी र चर्च ब्वाईजले अहिलेसम्म पुरस्कार वापतको रकम प्राप्त नगरेको बुझिएको छ । यसबारे सम्बन्धित क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) पनि निवेदन दिएको बताइएको छ ।

उता झापा फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा) का अनुसार एन्फाले आयोजक जायोनलाई सम्बन्धित क्लबलाई दिनुपर्ने पुरस्कार रकम दिन पत्र काटेको बताएका छन् । मामाका अनुसार आयोजकले पुरस्कार रकम दिनका लागि चैत्र पहिलो सातासम्म भाका मागेको इजलासले खबर प्रकाशित गरेको छ ।

साथै यस विषयमा आयोजकको गैरजिम्मेवारी र अव्यवसायीकता देखिएको झापा फुटबल संघका अध्यक्ष मामाको बुझाई छ । उनका अनुसार जायोनको यस्तै कार्यशैलीले झापाका अन्य फुटबल प्रतियोगिता तथा त्यसका आयोजकहरुलाई नकरात्मक असर पर्ने र जिल्ला कै प्रतिष्ठामा आँच आउने उनको ठम्याई छ ।

उता जायोन स्पोर्टसका अध्यक्ष भक्त खवासका अनुसार विभिन्न कारणवश प्रतियोगिताको विजेता टोलीहरुलाई रकम उपलब्ध गराउन नसकेको स्वीकार गरेका छन् । गोल्डकप आयोजना गर्नका लागि केही सहयोगी दाताहरुले सहयोग उपलब्ध नगराएपछि केही समस्या भएको समेत आयोजकको भनाई इजलासले उद्दत गर्दै खबर प्रकाशित गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...