धनकुटा महिला गोल्डकपको सेमिफाइनलमा

झापा (खेलदैनिक) । टाइब्रेकरमा पारिजात महिला फुटबल क्लब झापालाई पराजित गर्दै धनकुटा जिल्ला फुटबल संघ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पाहुना टोली धनकुटाले पारिजातलाई ४–३ गोलअन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । निर्धारित ७० मिनेटको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । जसमा धनकुटाकी असारा दाहाल, अन्जना थुलुङ, सुसिला चौधरी र सुस्मिता राई गोल गर्न सफल भइन् ।

पारिजातकी सुस्मिता लेप्चा, निलु तिर्की र रिमा तामाङले मात्र गोल गरिन् । बद्लिँदो मौसमका कारण झरीमाझ खेलाडीले प्रतिस्पर्धा गर्न बाध्य थिए ।

खेलको वुमन अफ दी म्याच पारिजातकी रिमा तामाङ घोषित भइन् । उनलाई १ नम्बर प्रदेश सांसद अर्जुन राईले नगद ३ हजार पुरस्कार प्रदान गरे ।

प्रतियोगिता अन्तरगत आइतबार लेटाङ फुटबल क्लब मोरङले म्याङलुङ नगर खेलकुद विकास समिति तेह्रथुमसँग तेस्रो क्वाटरफाइनल खेल खेल्नेछ ।

महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ झापाको आयोजनामा जारी प्रतियोगिता १ नम्बर प्रदेशमै सर्वाधिक धनराशिको हो ।

प्रतियोगितामा ९ जिल्लाका १० टिमको सहभागिता रहेको छ । गोल्डकपको विजेताले नगद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजार पाउनेछ । अन्य विधागत पुरस्कारतर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्डले जनही ७ हजार पाउँदा फाइनल खेलको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिनेछ ।

त्यस्तै, फेयर प्ले टिमलाई आयोजकले नगद १० हजार प्रदान गर्नेछ भने वुमन अफ दी टुर्नामेन्ट बन्ने खेलाडीलाई नगद १२ हजार पुरस्कार प्रदान गरिनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...