एन्फाले हेटौंडामा प्रशिक्षण केन्द्र बनाउने

हेटौडा (खेलदैनिक) । बागमती प्रदेशको राजधानी हेटौंडामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्ने भएको छ । हेटौंडा उपमहानगरपालिका र एन्फाबीच फुटबल प्रशिक्षण केन्द्र स्थापनाका लागि विहीबार एक कार्यक्रमका बीच सम्झौता भएको छ ।

एन्फाले हेटौंडा–१४ स्थित नयाँवस्तीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्दैछ । उपमहानगरपालिकाले ४० वर्षका लागि उक्त क्षेत्रमा रहेको ७ विगाह जग्गा प्रशिक्षण केन्द्र स्थापनाका लागि उपलब्ध गराउने सहमति भएको छ ।

सम्झौता कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच जग्गा भोगाधिकारको विषयमा सम्झौता पनि भएको छ । एसियाली फुटबल महासंघ (एएफसी)को प्रेसिडेन्टल ईनिसियटिभ कार्यक्रम २०२० अन्तर्गतको सहयोगमा एन्फाले नयाँवस्तीमा टेक्निकल सेन्टर निर्माण गर्ने भएको हो ।

जग्गा भोगाधिकार करारनामा हस्ताक्षर गरेसँगै मेयर महतले तोकिएको समयभित्र गुणस्तरीय भौतिक पूर्वाधार निर्धारण गर्न पनि आग्रह गरे । एन्फा अध्यक्ष शेर्पाले तोकिएको समयभित्रमा काम सम्पन्न हुनेमा विश्वस्त हुन आग्रह गरे । चार वर्ष भित्रमा प्रशिक्षण केन्द्रको सम्पूर्ण काम सम्पन्न हुने भन्दै उनले प्रशिक्षण केन्द्र निर्माणका लागि पहिलो किस्तामा एसियाली फुटबल महासंघले ५० हजार अमेरिकी डलर उपलब्ध गराएको समेत जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...