रुपन्देही जिल्ला फुटबल संघ र बुटवल सेरोफेरो समाजको सहयोग

सुरज राना मगर
रुपन्देही जिल्ला फुटबल संघ तथा बुटवल सेरोफेरो समाज (युके) द्वारा संयुक्त रुपमा धर्मोदय माध्यमिक विधालय, दरौदी डाँडा, मिरकोट–५ गोरखाका विधार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
बुटबलबाट गएको रुपन्देही जिल्ला फुटबल संघ र बुटवल सेरोफेरो समाज (युके)को एक टोलीले कार्यक्रममा छात्र–छात्राहरुलाई ब्याग, कापी, पेन्सिल, ज्यामिट्री बक्स लगायत विभिन्न शैक्षिक सामाग्री तथा खाजा वितरण गरेको थियो।

कार्यक्रममा बोल्दै रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसी (कुमार) ले फुटबल सँगै समाजसेवामा पनि हात हाल्न पाउँदा आफूहरुलाई खुशी लागेको कुरा व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्ता सहयोगी कार्यहरु जारी रहने बताउनुभयो । त्यस्तै उहाँले विधार्थीहरुलाई खेल र शिक्षा दुवै विधार्थीका लागि उतिकै आवश्यक रहेकाले गाउँ समाजमा पनि अध्ययन सँगसँगै खेलकुदमा समेत आफूलाई अब्बल बनाउन प्रयास गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै बुटवल सेरोफेरो समाज (युके) का सचिव अशोक थापाले पनि पुरस्कार हस्तान्तरण गर्दै आफूहरु जहाँ रहेपनि समाजमा आवश्यक परेका बेला अनि समाजसेवातर्फ आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै जिल्ला फुटबल संघका महासचिव लोक पुनले पनि विधालय र विधार्थीहरुलाई फेरि पनि सहयोग गर्न पाउँदा आफूहरुलाई खुशी लागेको बताउनुभयो । उहाँले सहयोगलाई ठूलो र सानो भन्दा पनि त्यसलाई सहयोगका रुपमा मात्र हेर्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा रुपन्देही जिल्ला फुटबल संघका सचिव शंकर मल्लाह, एन्फा एकेडेमी बुटवलका निर्देशक बुद्धी गुरुङ, लुम्बिनी स्पोर्टस् हाउस, बुटवलका संचालक संजय श्रेष्ठ लगायत विधालयका शिक्षक, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजिवीहरुको पनि सहभागिता रहेको थियो ।

स्मरणीय रहोस् २ वर्षअघि गएको महाभूकम्प पछि धर्मोदय माध्यमिक विद्यालयको भवन निर्माण गर्न रुपन्देही जिल्ला फुटबल संघले १८ औं तिलोतमा गोल्डकपको आयोजना गरेर बचत गरिएको रकमले आफ्नै पहलमा विधालय भवन निर्माण गर्न सहयोग गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...