बागमती प्रदेशद्वारा सागका पदक विजेताहरु सम्मानित

हेटौडा (खेलदैनिक) । बागमती प्रदेश सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जितेका बागमती प्रदेशभित्रका खेलाडी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट स्थानीय तह र पत्रकारलाई नगदसहित सम्मान गरेको छ ।

सागमा सहभागी भै स्वर्ण पदक जितेका खेलाडीलाई प्रति स्वर्ण एकलाख, रजतलाई ५० हजार र काश्य पदक विजेतालाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट काम गरेको भन्दै बागमती प्रदेशको विभिन्न कार्यालयमा कार्यरत २० जना कर्मचारीलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

यसैगरी तीन गाउँपालिका र दुई नगरपालिकालाई उत्कृष्ट स्थानीय तहको रुपमा सम्मान गरिएको थियो । सम्मानित हुनेमा दोलखाको सैलुङ, रसुवाको कालिका र सिन्धुलीको हरिहरपुर गाउँपालिका रहेको थियो भने चितवनको माडी र काभ्रेको पाँचखाल नगरपालिकालाई सम्मान गरिएको हो ।

यस्तै सामाजिक सेवा तर्फ मानवसेवा आश्रम मकवानपुर, युवा उद्यमतर्फ राप्ती नगरपालिका–२ चितवनका २ सरोज चेपाङ तथा पत्रकारितातर्फ राष्ट्रिय समाचार समिति (रासस) का प्रदेश प्रतिनिधि रिपेश दाहाललाई नगद २५ हजारसहित सम्मान गरिएको थियो ।

यस्तै सहकारीतर्फ सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. काभ्रे, सांस्कृतिकतर्फ जनप्रगति ब्राह्मण नौमती बाजा समूह मकवानपुरगढी र झाँकी समूहतर्फ धिमाल जाती झाँकी समूह मकवानपुर बाल विद्या सदनलाई नगद २५ हजारसहित सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...