पुलिस विरुद्ध मनाङलाई सफलता

काठमाडौं (खेलदैनिक) । पहिलो हाफको अन्तिमतिर गरेको दुई गोल नै निर्णायक बन्दा मनाङ मस्र्याङ्दी क्लबले कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा मंगलबार नेपाल पुलिस क्लबलाई २–० ले हराएको छ ।

यो जितसँगै डिफेन्डिङ च्याम्पियन मनाङले यस सिजन लिग उपाधि रक्षा गर्न असफल भए तापनि कम्तिमा तेस्रो स्थानका लागि अन्तिम खेलसम्म भिड्ने निश्चित भएको छ ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलको ३०औं मिनटमा बिमल रानाले सुन्दर गोल गर्दै मनाङको खाता खोलेका थिए । त्यसको दश मिनटपछि ४१औं मिनटमा निशान लिम्बुको क्रसमा अन्जन बिष्टले मनाङका लागि दोस्रो र अन्तिम गोल गरे ।

यो जितपछि १२ खेलबाट २५ अंक जोडेको मनाङ तेस्रो स्थानमा छ र चौथो स्थानमा रहेको थ्रीस्टार भन्दा २ अंकले मात्र अगाडी छ । साथै, मनाङले अन्तिम खेलमा जावलाखेल युथ क्लबसँग फागुन २ गतेका दिन खेल्नेछ । जुन खेल मनाङका लागि महत्वपूर्ण हुने निश्चित छ ।

त्यो खेलमा जित निकाले मनाङले यस सिजनको लिग तेस्रो स्थानमा रहेर समापन गर्नेछ । उता पराजित पुलिस भने १७ अंकका साथ छैंटौ स्थानमा छ । र, लिग चरणको अन्तिम खेलमा फागुन १ गतेका दिन फ्रेण्डस क्लबको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...