फागुन १० देखि बुढासुब्बा गोल्डकप, विजेतालाई १० लाख

  • राज कुमार श्रेष्ठ

धरान (खेलदैनिक) । प्रतिष्ठित २२औं बुढासुब्बा गोल्डकप आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएकोहो ।

आयोजकका अनुसार प्रतियोगितामा नेपाली र विदेशी गरी कुल आठ टोलीहरुको सहभागिता रहनेछ । क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रदेश १ अध्यक्ष किशोर राईका अनुसार एन्फाले बूढासुब्बालाई ‘क’ श्रेणीमा राखेपछि प्रतियोगिताको पुरस्कार राशि पनि बढाइएको छ ।

यसपटक प्रतियोगिताको उपाधि विजेतालाई रु १० लाख र उपविजेतालाई रु पाँच लाख दिने अध्यक्ष राईले जानकारी दिए । स्मरणीय छ, अघिल्लो संस्करणमा विजेतालाई रु आठ लाख र उपविजेतालाई रु चार लाख दिइएको थियो ।

यसपटक प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, युके एफसी, भारत, जापान फुटबल लिग टिम, बेलबारी फुटबल क्लब, मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब सहभागी हुने आयोजकले जनाएको छ ।

बाइसौँ संस्करणमा हालै भित्रिएको भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) लाई प्रयोगमा ल्याउन लागिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । यो प्रविधी नेपालमै पहिलोपटक बूढासुब्बाले प्रयोगमा ल्याउन लागेको क्लबका अध्यक्ष राईले बताए ।

विदेशी ठूला प्रतियोगितामा यस प्रविधिको प्रयोग हँुदै आएको छ । रेफ्रीले नदेखेका वा दोधार भएको निर्णयहरु भिडियो एसिस्टेन्ट रेफ्री (भार) को माध्यमबाट थाहा पाउन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस

Loading...