खप्तड गोल्डकप फागुन ९ देखि, विजेतालाई २१ लाख

धनगढी (खेलदैनिक) । छाटो समयमै परिचित बनेको सुदुरपश्चिम खप्तड गोल्डकपको चौथो सस्करण आउँदो फागुन ९ गतेदेखि आयोजना हुने भएको छ । आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबले शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।

प्रतियोगिताका लागि आवश्यक तयारी समेत सुरु गरिएको आयोजकले जनाएको छ । चौधरी गुप्रको नेपाल आइसले मुख्य प्रायोजन गरेपछि आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब प्रतियोगिताको तयारीमा पनि जुटेको छ ।

त्यस्तै प्रतियोगिता आयोजनाका लागि विभिन्न उपसमिति बनाइएको क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए । प्रतियोगिताको माध्यमबाट सुदूरपश्चिमको समग्र विकास र खेल पर्यटनको विकास गर्ने उद्देश्यले अघिल्लो वर्षदेखि थालिएको प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको अध्यक्ष हमालले बताए ।

दुई विदेशी सहित १२ टिम सहभागी हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५–१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०–१० हजार पुरुस्कार प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।

१ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्यक्ष तथा दुई करोडले अप्रत्यक्ष रुपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दावी गरेको छ ।

साथै यसपटक प्रतियोगिताको नाम चौथो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप—२०७६ रहनेछ । मुख्य प्रायोजन सम्बन्धी सम्झौतामा क्लबका तर्फवाट अध्यक्ष सुरेश हमाल र सिजी ब्रुअरीका तर्फवाट रिजनल सेल्स म्यानेजर मनोज घिमिरेले सम्झौता गरे ।

प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ भने अन्य प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप सगरमाथा सिमेन्ट रहेको छ ।

त्यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्नरमा मेटलाईफ रहेको छ । सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो । धनगढी रंगशालामा हुने प्रतियोगिताको फाइनल खेल भने फागुन २० गतेका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...