फागुनमा माईभ्याली गोल्डकप, विजेतालाई आठ लाख

इलाम (खेलदैनिक) । पूर्वको प्रतिष्ठित माईभ्याली गोल्डकप नकआउट फुटबल प्रतियोगिताको छैटौं संकरण यसवर्ष फागुन १५ गतेदेखि हुने भएको छ ।

आयोजक माईभ्याली फुटबल क्लबले शनिबार इलाममा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो । आयोजक क्लबका अध्यक्ष धिरेन चेम्जोङले प्रतियोगिताका लागि आवश्यक तयारी सुरु भएको जानकारी दिए ।

दर्शकको चाप रहने माईभ्याल्ली गोल्डकपमा नेपालको ए डिभिजन क्लब मात्र नभएर बाहिरी देशका नाम चलेका क्लबहरु पनि इलाम आउन आतुर रहेको अध्यक्ष चेम्जोङले बताए ।

ए डिभिजन क्लबबाट कम्तिमा ४ वटा, झापा र भारतका चर्चित क्लब, भुटानको लिग बिजेता क्लब र जापानको युनिभर्सिटीको सहभागी हुने आयोजकले जानकारी दियो । प्रतियोगिताको फाइनल खेल २४ गते हुनेछ ।

त्यस्तै प्रतियोगिताको पुरस्कारको राशिमा पनि बृद्धि गरिएको आयोजकले जनाएको छ । यस वर्ष माईभ्याली गोल्डकपलाई थप आकर्षक र ब्यवस्थित बनाउने क्रममा पुरस्कार राशिमा १ लाख रुपँया बृद्धि गरिएको आयोजकको भनाइ छ ।

यो वर्ष माईभ्याली गोल्डकपको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...