मनाङलाई आयल निगमको प्रायोजन

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलमा सफल क्लबको छबि बनाएको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले प्रायोजक पाएको छ । सोमबार मनाङलाई नेपाल आयल निगमले एक वर्षका लागि प्रायोजन गरेको हो ।

प्रायोजन वापत मनाङलाई निगमले ३५ लाख उपलब्ध गराउनेछ । यो प्रायोजन सम्झौतासँगै मनाङले निगमको लोगो अंकित जर्सी लगाउने छ । यद्यपि मनाङले सातौं चरणको खेलतर्फ थ्रीस्टार विरुद्ध खेल्ने क्रममै निगमको लोगो अंकित जर्सी लगाएर खेलेको थियो ।

सम्झौतापत्रमा सोमबार निगमका तर्फबाट कार्यकारी प्रमुख सुरेन्द्र कुमार पौडेल र मनाङका अध्यक्ष छिम्मी उर्गेन गुरुङ्गले एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापत्रमा हस्ताक्षर गरिसकेपछि निगमका कार्यकारी प्रमुख पौडेलले यो शुरुवात मात्र भएको बताएका थिए ।

स्मरणीय छ, जारी लिगमा सातौं चरणको खेल समाप्तीसम्म मनाङ १३ अंकका साथ लिगतालिकाको तेस्रो स्थानमा छ र लिग उपाधि होडमै छ । मनाङले गत वर्ष मात्र लिग किर्तिमानी आठौंपटक जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...