तेस्रो कुम्मायक गोल्डकप शुरु

पाँचथर (खेलदैनिक) । कुम्मायक स्र्पोटिङ क्लब, यासोक पाँचथरको आयोजनामा बुधबारदेखि तेस्रो कुम्मायक गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

पाँचथरको यासोक स्थित पृथ्वी माविको खेलमैदानमा शुरु प्रतियोगिताको उद्घाटन खेलमा कुम्मायक गाउँपालिकाले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा तुम्बेवा गाउँपालिकालाई ३–२ ले हराउँदै कुम्मायकले विजयी शुरुवात गरेको हो ।

खेलमा शुरुवाती अग्रता भने तुम्बेवाले लिएको खेलको १९औं मिनटमा राजेश थापाले तुम्बेवाका लागि गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए । तर, २९औं मिनटमा कुम्मायकका लागि दिप्सन लावतीले बराबरी गोल फर्काउन सफल भएका थिए ।

बराबरी गोलपछि खेलमा फर्किएको कुम्मायकका लागि दोस्रो हाफको १९औं मिनटमा दिप्सनले नै दोस्रो गोल गरे भने २९औं मिनटमा लोकेन्द्र थापाले तेस्रो गोल गरे । जुन निर्णायक पनि बन्यो ।

तेस्रो गोल खाएको पाँच मिनट बित्न नपाउँदै तुम्बेवाका लागि ३४औं मिनटमा राजेश थापाले नै दोस्रो गोल फर्काए । तर, टोलीको दुर्भाग्यपुर्ण हार भने टार्न सकेनन् । खेलको म्यान अफ द म्याच कुम्मायकका दिप्सन लावती घोषित भए । उनले पुरस्कार वापत नगद तीन हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत माघ २ गते बिहीवारको पहिलो खेलमा फिदिम नगरपालिका र याङवर गाउँपालिका बीच हुनेछ भने दोस्रो खेल फालेजुङ गाउँपालिका र हिलिहाङ गाउँपालिका बीच हुने आयोजकले जनाएको छ ।

यहि माघ ५ गतेसम्म चल्ने प्रतियोगितामा पाँचथर जिल्लाका कुल ८ पालिकाहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...