सुनिल सहित मकवानपुरे खेलाडीहरुको बजार परिक्रमा र सम्मान

हेटौडा (खेलदैनिक) । काठमाण्डौंमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जितेका मकवानपुरे खेलाडी तथा प्रशिक्षकलाई हेटौंडा बजार परिक्रमा गराउँदै नगदसहित सम्मान गरिएको छ ।

जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिकाले मंगलबार संयुक्त रुपमा खेलाडी तथा प्रशिक्षकलाई हेटौंडा बजार परिक्रमा गराएर नगदसहित सम्मान गरेको हो । मकवानपुरबाट सागमा चार जनाले स्वर्ण, चार जनाले रजत र पा“चजनाले कास्य पदक जितेका थिए ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरको समन्वयमा हेटौंडा उपमहानगरपालिकाले स्वर्ण पदक विजेतालाई एकलाख, रजत पदक विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई नगद ५० हजार रुपैया“सहित सम्मानपत्र प्रदान गरेको थियो । जिल्ला समन्वय समितिले स्वर्ण पदक विजेतालाई नगद २५ हजार, रजत पदक विजेतलाई २० हजार र कास्य पदक विजेतलाई नगद १५ हजार रुपैया“सहित सम्मान गरेको थियो ।

उसुमा रजत पदक जिताउन सफल प्रशिक्षक विमल थापालाई पनि नगदसहित सम्मान गरिएको थियो । सागमा पदक जित्न सफल खेलाडीलाई प्रारम्भिक चरणमा प्रशिक्षण गराएका मकवानपुर जिल्लाका प्रशिक्षकहरु बक्सिङका लालबहादुर पौडेल, तेक्वान्दोका माधव कोइराला, करातेका नरेन्द्र श्रेष्ठ, फुटबलका विजयलाल श्रेष्ठलाई पनि नगदसहित सम्मान पत्र प्रदान गरियो ।

महसुस मोक्तान कराते, सुनिल बलले फुटबल, सञ्जिवकुमार ओझा र निसा दर्नाल तेक्वान्दो मा स्वर्ण पदक जितेका थिए । त्यस्तै शिलु डंगोलले उसु, माया स्याङ्तान र निकेश मगरले बास्केटबल तथा देवकुमारी बास्कोटाले ह्याण्डबलमा रजत पदक जितेका थिए ।

त्यसैगरी रीता कार्कीले कराते, हरिप्रसाद गोलेले उसु, राजन बल खोखो तथा पुरन राई र विकास लामाले बक्सिङतर्फ कास्य पदक जित्न सफल भएका थिए । खेलाडी तथा प्रशिक्षकहरुलाई जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलगायतले नगदसहित सम्मानपत्र प्रदान गरे ।

पदकधारी खेलाडी तथा प्रशिक्षकहरुलाई हेटौंडा–४ स्थित हुप्रचौरबाट हेटौंडा बजार परिक्रमा गराइएको थियो । नेपाली सेनाको न्याउली बाजा र पञ्चे बाजासहित बजार परिक्रमा गराइएको हो । जिसस प्रमुख खुलालले खेल क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन आफूहरु तयार रहेको बताए ।

उता हेटौंडाका मेयर महतले खेलाडीको घरमा पनि चुल्हो बल्नुपर्छ भन्ने सोच्नु आवश्यक रहेको बताए । सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना लामा, जिल्ला खेलकुद विकास समिति मकवानपुर प्रमुख राजन दाहाल ‘खुशराज’, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्ट, जिल्ला समन्वय समिति उपाध्यक्ष भगवती पुडासैनीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...