बिमल सहित चार खेलाडीमाथिको निलम्बन घट्यो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार फुटबल खेलाडीमाथि लगाएको निलम्बन अपिल पश्चात घटाएको छ । फिफा विश्वकप छनौटतर्फ कुवेत विरुद्ध खेल्नु अघि अनुशासनको कारवाहीमा परेका चार खेलाडी अन्जन बिष्ट, सन्तोष तामाङ, दिनेश राजवंशी र बिमल घर्ती मगरमाथिको निलम्बन घटाइएको हो ।

भुटानमा भएको कुवेत विरुद्धको सो खेल खेल्नु अघि ती चार खेलाडीहरु अबेर रातीसम्म डिस्कोमा रात बिताउनुका साथै झगडा समेत गरेकोमा दोषी पाइएका थिए । दोषी पाइएपछि एन्फाको अनुशासन कमिटीले गत डिसेम्बर १३ तारीखदेखि लागु हुने गरी अन्जन र सन्तोषमाथि ४५ दिनको तथा बिमल र दिनेशमाथि ९० दिनको प्रतिबन्ध लगाएको थियो ।

यद्यपि चारै खेलाडीले सो निलम्बन विरुद्ध अपिल गरेपछि एन्फाले उक्त निलम्बनको अवधि घटाएको हो । अब नयाँ निर्णयअनुसार ती चारै खेलाडीमाथि लगाइएको त्यो निलम्बन मिति नोभेम्बर १६ तारीखदेखि गणना गरिनेछ । यसअघि यहि डिसेम्बर १३ तारीखदेखि उनीहरुमाथि निलम्बन लगाइएको थियो ।

जसका कारण ती चार खेलाडीहरुले एन्फाको संलग्नता रहने कुनै पनि प्रतियोगिताहरुमा सहभागिता जनाउन नपाउने बताइएको थियो । तर, मंगलबारको यो निर्णयसँगै ती चारै खेलाडीहरुलाई केही राहत महशुस भएको छ ।

यद्यपि एन्फाका अनुसार ती चार खेलाडीहरुमाथि लगाइएको आर्थिक जरिवाना भने यथावत रहने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...