चर्च ब्वाईजलाई स्तब्ध पार्दै आयोजक फाइनलमा

तेह्रथुम (खेलदैनिक) । दावेदार मानिएको चर्च ब्वाईज युनाइटेडलाई हराउँदै आयोजक बिटीएफसी जारी दोस्रो भगिमान सिंह स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार तेह्रथुम स्थित म्याङलुख खेलमैदानमा भएको पहिलो सेमिफाइनल भिडन्तमा बिटीएफसीले चर्च ब्वाईजलाई पेनाल्टी शुटआउटमा ४–३ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा आयोजक बिटीएफसीका गोलरक्षक बिजय गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत मंसिर २५ गते बुधबारको दोस्रो सेमिफाइनल खेल जलथल एफसी, झापा र योङ ब्रदर्श, इटहरीबीच हुने आयोजकले जनाएको छ ।

भगिमान सिंह तुम्बाहाङफे स्मृति प्रतिष्ठान, म्याङलुङ, तेह्रथुमको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ । फाइनल खेल यहि मंसिर २६ गते बिहीबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...