उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनी खुकुरी फाइनलमा

तिलोत्तमा (खेलदैनिक) । शुरुवाती तीन गोलले पछि परेको स्थिति उल्टाउँदै लुम्बिनी खुकुरी क्लब जारी तेस्रो सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–१४, बाघधुरा देवीनगर स्थित आयोजक क्लबको खेल मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा लुम्बिनी खुकुरीले दावेदार मानिएको फर्साटिकर युवा क्लबलाई पेनाल्टी शुटआउटमा ४–२ ले हरायो ।

यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । फर्साटिकरका लागि सुजन राना, पुरन भण्डारीले गोल गरे भने थप एक गोल सोनम गुरुङले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

उता लुम्बिनीका लागि भने दुई गोल कृपा चौधरीले गरे भने थप एक गोल सुवास परियारले गरे । खेलमा टोलीलाई फर्काउन अहम भूमिका खेलेका लुम्बिनी खुकुरीका कृपा चौधरी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको फाइनल खेल यहि मंसिर २१ गते शनिबारका दिन लुम्बिनी खुकुरी क्लब र झरना स्पोर्टस क्लबबीच हुने खेल संयोजक कमल परियारले जानकारी दिए ।

सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बाघधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...