फुटबलकी ‘रेकर्ड ब्रेकर’ साम्बा

पोखरा (खेलदैनिक) । नेपाली महिला फुटबल टोलीकी मुख्य हतियार हुन स्टार स्ट्राइकर साबित्रा भण्डारी । बिहीबार पोखरामा माल्दिभ्स विरुद्ध तीन साबित्रा फेरि मुख्य हतियार बनिन् ।

१३औं सागतर्फ महिला फुटबलको आफ्नो दोस्रो खेलमा बिहीबार नेपालले माल्दिभ्सलाई ३–० ले हराउँदै तीनै गोल साबित्राले गरिन् । साबित्राको त्यो ह्याट्रिकसँगै उनले नेपाली फुटबलमा आफ्नो नाम सुवर्ण अक्षरले लेखाउन पनि सफल भईन् ।

माल्दिभ्स विरुद्ध ह्याट्रिक गरेकी साबित्राले अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालको लागि ३८औं गोल पूरा गरेकी थिइन् । जुन नेपाली महिला फुटबलको इतिहास मै कुनै एक खेलाडीले गरेको सर्वाधिक गोलको किर्तिमान थियो ।

यसअघि ३५ गोल गरेकी नेपालकी पूर्व स्ट्राइकर अनु लामाको नाममा यो किर्तिमान थियो । जुन साबित्राले बिहीबार तोड्न सफल भईन् । किर्तिमान तोडेपछि साबित्राले खुशी व्यक्त गरिन् ।

साबित्रा भन्छिन्, “गोल गर्न सकेकोमा खुशी छु । यो किर्तिमान मैले श्रीलंका विरुद्ध नै बनाउन चाहन्थें तर सकिन । जे भए पनि यो उपलब्धी हासिल गर्न सफल भएकोमा म खुशी छु ।”

स्मरणीय छ, बिहीबारको नतिजासँगै नेपाली महिला फुटबल टोलीले फाइनल स्थान समेत सुरक्षित गरेको छ । र फाइनलमा स्वर्णका लागि नेपालले चिरप्रतिद्वन्द्वी भारतकै सामना गर्नेछ । यद्यपि नेपाल र भारत लिग चरणतर्फ पनि शनिबार पहिलोपटक भिड्दै छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...