
अर्जुनधारा (खेलदैनिक) । शानदार जितका साथ शनिश्चरे एफसी यहाँ जारी झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
स्थानीय दीपज्योति खेलमैदानमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा बिर्तामोड युनाइटेड एफसीमाथि ६–१ को फराकिलो अन्तरको जित निकाल्दै शनिश्चरे उपाधि नजिक पुगेको हो ।
खेलको तेस्रो मिनटमै शनिश्चरेका बादल तामाङले गोल गरेर अग्रता दिलाएका थिए तर बिर्तामोडका बिक्की चौधरीले ८औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए तापनि बाँकी समय पूरै दबाबमा खेल्न बाध्य बन्यो ।
बिर्तामोडमाथि गोलवर्षा गर्ने क्रममा शनिश्चरेका नानी लिम्बूले ह्याटिङक गरे । नानीले खेलको ३२औँ, ४५औँ र ५५औँ मिनेटमा गोल गर्दै ह्याट्रिक जमाए ।
खेलको ४०औँ मिनेटमा रोमन भुजेलले गोल गरेका थिए भने सौरभ लिम्बूले खेलको ५२औँ मिनेटमा गोल गर्दै शनिश्चरेको फराकिलो जित पक्का गरेका थिए ।
खेलको म्यान अफ द म्याच शनिश्चरेका ह्याट्रिककर्ता नानी लिम्बू घोषित भए । उनलाई अर्जुनधारा ६ नम्बर वडा परिषद सदस्य तुम्बानाथ काफ्ले र खेलप्रेमी प्रदिप जोशीले पुरस्कारस्वरुप नगद २ हजार प्रदान गरे ।
प्रतियोगिता अन्तरगत मंगलबारको दोस्रो सेमिफाइनल खेल झापा एफसी राजगढ र मनास्लु एफसी कालिस्थानबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने आयोजक क्लबका अध्यक्ष श्याम दनुवारले जानकारी दिए ।