माघमा नवज्योति च्यालेञ्ज कप

जयपुर (खेलदैनिक) । बुद्धशान्ति गाउँपालिक–२ स्थित जयपुरमा नवज्योति च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको सातौँ संस्करण हुने भएको छ ।

प्रतियोगिता माघ महिनाको दोस्रो साता स्थानीय आदर्श माविको खेल मैदानमा हुने पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो । आयोजक नवज्योति युवा क्लबका अध्यक्ष गोपाल पोख्रेलका अनुसार प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका ८ वटा टिमले सहभागिता जनाउने छन् । जिल्ला फुटबल संघमा दर्ता भएका क्लबलाई मात्र प्रतियोगितामा सहभागिता गराइने उनले बताए ।

विजेता टिमले नगद १ लाख १ हजार १११ रुपैयाँ पाउँदा उपविजेताले ५० हजार ५५५ रुपैयाँसहित ट्रफी पाउनेछ । त्यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचले जनही २ हजार ५ सय पाउँदा म्यान अफ दी टुर्नामेन्टले नगद ५ हजार पाउनेछ ।

त्यस्तै, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट कोच, बेस्ट किपर र बेस्ट फरवार्डले जनही ५–५ हजार पाउने छन् । क्लबका उपाध्यक्ष राम श्रेष्ठका अनुसार प्रतियोगिता सम्पन्न गर्न १० लाख ४६ हजार ६६६ रुपैयाँ अनुमान गरिएको छ । जसमा ९ लाख ९५ हजार १६६ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगिता सम्पन्न गरिसकेपछि बचत रकमले क्लबको जीर्ण भवनको मर्मत सम्भार गरिने क्लबका अध्यक्ष पोख्रेलले बताए । क्लबलाई गाउँपालिका र वडा कार्यालयले नगद ३ लाख सहयोग प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...