सन्तोष साहुखलले च्यासलबाट खेल्ने, थप दुई जापानिज खेलाडी पनि आउँदै

काठमाडौं (खेलदैनिक) । थ्रीस्टार क्लब, मनाङ मस्र्याङ्दी क्लबबाट खेलिसकेका नेपालका पूर्व स्ट्राइकर सन्तोष साहुखलले यस बर्षको ए डिभिजन लिग च्यासल युथ क्लबबाट खेल्ने भएका छन् । स्मरणीय छ, साहुखलले गत बर्ष पनि च्यासलबाटै खेलेका थिए ।

त्यस्तै च्यासलले शहिद स्मारक ए डिभिजन लिगका लागि तीन जापानीज खेलाडीलाई अनुबन्ध गर्ने भएको छ । एसियन फुटबलको पावर हाउसका रुपमा रहेको जापानबाट च्यासलले खेलाडी अनुबन्ध गर्न लागेको हो ।

च्यासलले यस अघि नै एक जापानीज खेलाडीलाई अनुबन्ध गरिसकेको छ । मिडिफिल्डर जुन इचि ओजावालाई च्यासलले हाल जारी चन्द्रागिरी गोल्डकपमा समेत खेलाएको थियो । त्यसैगरी सन्तोष साहुखलले पनि च्यासलबाट खेल्ने क्लबका अध्यक्ष रमेश ब्याञ्जनकारले बताएका छन् ।

च्यासलले अन्य दुई जापानी खेलाडीलाई भित्राउन लागेको हो । हायातो वाकिनो र ताइगा नाकामुरालाई ए डिभिजन लिगका लागि अनुबन्धन गरेको हो । हायातो मंगोलियाको एरचिम उलानबाटरबाट खेल्दै थिए । उनीसँग न्युजिल्यान्ड, अस्ट्रेलिया, लिथोनिया र जे थ्री लिग खेलेको अनुभव छ ।

ताइगो नाकामुरा जापानीज राष्ट्रिय यू १५ टिमका कप्तान समेत भएका थिए । उनले लाओस प्रिमियर लिगमा लुआंगप्रबंग युनाटेडमा आवद्ध भएर खेलेका थिए ।

उता यस अघि नै आवद्ध भइसकेका जुन इचि ओजावा गोयो एफसी मंगालिया र लाओस लुआङ प्रवाङ एफसीका लागि खेल्थे ।

मंसिर अन्तिमबाट हुने ए डिभिजन लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । च्यासलले अन्य खेलाडीलाई पनि आवद्ध गराइसकेको छ । ललितपुरको अर्काे क्लब थ्रीस्टारमा खेल्दै आएका खेलाडीलाई यस पटक च्यासले आवद्ध गराउन सफल भएको छ ।

गोलरक्षक एलन न्यौपाने, मिडफिल्डर सुनिल वल, डिफेन्डर दिनेश राजवंशी, नितिन थापालाई समेत च्यासलले अनुवन्ध गरेको छ । यी चार जना नै थ्रीस्टारबाट खेल्थे । छिरिङ्ग गुरुङ, हेमन्त थापामगर च्यानलमै रहेका छन् । सहायक कोचमा वाल गोपाल साहुखललाई आवद्ध गरेको च्यासलका अध्यक्ष रमेश ब्याञ्जनकारले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...