प्रशिक्षक महर्जनद्वारा बिमल, अन्जन र दिनेश यु–२३ टोलीबाट निष्काशित

काठमाडौं (खेलदैनिक) । नेपाल यु–२३ टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले टोलीका मुख्य तीन खेलाडीहरुलाई अनुशासनको कारवाही गर्दै टोलीबाट निष्काशित गरेका छन् ।

दक्षिण एसियाली खेलकुद (साग) खेल्ने तयारीमा रहेको नेपाली टोलीबाट बिमल घर्ती मगर, अन्जन बिष्ट र दिनेश राजवंशीलाई निष्काशन गरिएको हो । स्मरण रहोस, राष्ट्रिय टोलीमा रहेका यी तीन खेलाडी फिफा विश्वकप छनौटतर्फ कुवेत विरुद्ध खेल्नका लागि भुटान उड्नु एक दिन मध्यरातसम्म ठमेलको नाइट क्लबमा बिताएपछि उनीहरु चर्को अलोचना र कारवाहीमा परेका थिए ।

बिमल, अन्जन र दिनेश सहित मिडफिल्डर सन्तोष तामाङ पनि सो कारवाहीमा परेका थिए । त्यतिबेला यी चारै खेलाडी राष्ट्रिय फुटबल टोलीसँग थिम्पु समेत जान पाएका थिएनन् । यद्यपि सागको टोलीमा सन्तोष भने परेका थिएनन् ।

गोलनेपालका अनुसार नेपालको यु–२३ टोलीमा बिमल, अन्जन र दिनेशको स्थानमा अन्य खेलाडीले अवसर पाउने भएका छन् । कुराकानीका क्रममा प्रशिक्षक महर्जनले भने, “हामीले उनीहरुलाई (बिमल, अन्जन, दिनेश) टिमबाट हटाइसकेका छौं । उनीहरुको स्थानमा राजेश परियार, राजिव लोप्चन र प्रिजेन तामाङ टोलीमा समावेश हुनेछन् ।”

सागमा यी तीन खेलाडीहरुको अभाव खट्किने हो कि ? भनेर प्रश्न गर्दा महर्जनले भने, “यो टिम गेम हो । हामीसँग अन्य खेलाडीहरुले पनि छन् । जसले राम्रो प्रदर्शन गर्दै आफूलाई प्रमाणित गर्न सक्छन् ।”

स्मरणीय छ, नेपालले यहि मंसिर १५ गतेदेखि दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गर्दैछ । जसअन्तरगत पुरुष फुटबलतर्फका खेलहरु काठमाडौं स्थित दशरथ रंगशालामा हुँदैछन् । प्रतियोगितातर्फ समूह ए मा परेको नेपालले उद्घाटन खेलमै बंगलादेशको सामना गर्नेछ । त्यस्तै महिला फुटबलतर्फको खेलहरु भने पोखरा रंगशालामा हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...