एपिएफको जितसँगै सेमिफाइनल समिकरण पूरा

काठमाडौं (खेलदैनिक) । सशस्त्र प्रहरीको एपिएफ क्लब जारी तेस्रो चन्द्रागिरी मेयर गोल्डकप ए डिभिजन नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको अन्तिम क्वाटरफाइनलमा एपिएफले सरस्वती युवा क्लबलाई १–० ले हराउँदै अन्तिम चारको यात्रा पक्का गरेको हो ।

चन्द्रागिरी नगरपालिका–१३ स्थित नैकाप खेलमैदानमा सम्पन्न खेलमा एपिएफका लागि १६औं मिनटमा प्रविन स्याङ्तनले गरेको एक मात्र गोल निर्णायक बन्यो । सेमिफाइनलमा एपिएफले अब मंसिर ११ गतेका दिन रुस्लान थ्रीस्टार क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तरगत मंसिर ९ गते पनि आराम दिइएको छ । सेमिफाइनल खेलहरु मंसिर १० गतेदेखि शुरु हुनेछन् । जसअन्तरगत १० गते मंगलबारको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र ब्रीगेड ब्वाईज क्लब भिड्ने छन् ।

दिप शिखा युवा समूह, चन्द्रागिरी–१३ पुरानो नैकापको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ३ लाख २५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल मंसिर १४ गतेका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...