पुलिससँग डिफेन्डिङ च्याम्पियन च्यासल स्तब्ध

काठमाडौं (खेलदैनिक) । साविक विजेता च्यासल युथ क्लब जारी तेस्रो चन्द्रागिरी मेयर गोल्डकप ए डिभिजन नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनल मै स्तब्ध भएको छ ।

शनिबार भएको तेस्रो क्वाटरफाइनलमा च्यासलले विभागीय टोली नेपाल पुलिस क्लबसँग ०–१ को हार बेहोर्दै प्रतियोगिताबाटै बाहिरिएको हो । पुरानो नैकाप स्थित खेलमैदानमा भएको खेलमा पुलिसका लागि पहिलो हाफको १७औं मिनटमा सुमन लामाले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

पुलिसका निर्णायक गोलकर्ता सुमन लामा खेलको म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर ८ गते आइतबारको चौथो अन्तिम क्वाटरफाइनल खेल सरस्वती युथ क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुने आयोजकले जनाएकोे छ ।

दिपशिखा युवा समूह, चन्द्रागिरी–१३ पुरानो नैकापको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ३ लाख २५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने मंसिर १४ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...