हमालको ह्याट्रिकसँगै फर्साटिकर फाइनलमा

बुटवल (खेलदैनिक) । सुरज हमालले ह्याट्रिक गरेपछि दावेदार फर्साटिकर युवा क्लब जारी तेस्रो एनवाइसी कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–८, प्रदिपनगर स्थित जनभावना माविको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा फर्साटिकरले न्यु सिर्जना युवा क्लबलाई ४–१ ले हरायो । फर्साटिकरको जितमा हमालले ह्याट्रिक गर्दा बिसु थापाले थप एक गोल गरे । उता पराजित न्यु सिर्जनाका लागि सुरज घलानले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलमा फर्साटिकरका ह्याट्रिकर्ता सुरज हमाल म्यान अफ द म्याच घोषित भए । अब फर्साटिकरले उपाधिका लागि मंसिर ७ गते शनिबार डिएमसी, तुल्सीपुरको सामना गर्नेछ । डिएमसीले बुधबार मात्र साविक विजेता झरना स्पोर्टस क्लबलाई हराउँदै फाइनल स्थान सुरक्षित गरेको थियो ।

नव एकता युवा क्लब, तिलोत्तमा–८, प्रदिपनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने खेल संयोजक गोविन्द अर्यालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...