नेपाली फुटबल टोलीको थिम्पु पछिको योजना

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप दोस्रो चरणको छनौटतर्फ पहिलो होम म्याचका रुपमा थिम्पुमा कुवेतसँग खेलेर नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वेदश फर्कियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फा पदाधिकारीहरुले टोलीको स्वागत गरे । थिम्पुमा भएको कुवेत विरुद्धको सो खेलमा नेपालले १–० को झिनो अन्तरले हार बेहोरेको थियो ।

नेपालले अब तीन होम म्याच खेल्न बाँकी छ । जुन आगामी बर्ष (सन् २०२०) मा हुनेछन् । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईलाई घरमै आतिथ्यवता गर्ने कार्यक्रम छ ।

पाँच खेलको समाप्ती पश्चात नेपालले केवल ३ अंक जोडेको छ र समूह बी तर्फ चौथो स्थानमा छ । तर पनि नेपालको सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कप खेल्ने सम्भावना कायमै छ ।

विश्वकप छनौटतर्फ नेपालले आगामी खेल अर्को बर्षको मार्च महिनामा खेल्ने कार्यक्रम छ । यसको अर्थ, नेपालसँग आउँदो तीन घरेलु म्याचका लागि तयारी गर्न केही हदसम्म प्रर्याप्त समय छ ।

नेपाली खेलाडीहरु अब क्लब फुटबलमा व्यस्त बन्ने छन् । घरेलु फुटबलको सिजन पनि शुरु हुन लागेकोले खेलाडीहरुलाई कम आराम बढी खेलको भार हुने निश्चित छ ।

तर पनि एन्फाले प्रतियोगिता र राष्ट्रिय टोलीका खेलाडीहरुका लागि आवश्यक व्यवस्थापन र बढी भन्दा बढी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचको पनि अवसर श्रृजना गर्न सके त्यसले खेलाडीहरुलाई थप एक्सपोजर मिल्ने धेरैको बुझाई छ ।

जसलाई एन्फाले गम्भिर रुपमा लिएर आवश्यक गृहकार्य तत्काल शुरु गरिहाल्नु पर्ने देखिन्छ । नत्र नेपालको एसियन कपको सपना पनि त्यसै खेर जान सक्छ ।


प्रतिक्रिया दिनुहोस

Loading...