पोखरा रंगशालाका लागि फेरि आइपुग्यो नयाँ दुबो

पोखरा (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पोखरा रंगशालामा हालिएको दुबो काम नलाग्ने गरि बिग्रिएपछि फेरि नयाँ दुबो कोलकाताबाट ल्याइएको छ ।

सागको केही खेलहरु आयोजना गर्ने जिम्मा पाएको पर्यटकीय नगरी पोखरामा महिला फुटबल प्रतियोगिता पनि हुने बताइएको थियो । साग कै लागि भनेर पुरानो पोखरा रंगशालालाई भत्काएर नयाँ रुप दिने काम पनि शुरु गरिएको थियो ।

तर, कार्यक्रम र योजनाअनुसार नै रंगशालाको निर्माण कार्य भने शुरु हुन सकेन । सोही क्रममा रंगशालामा हाल्न कोलकाताबाट ६० लाख भन्दा बढी मूल्य पर्ने दुबो ल्याइएको थियो ।

तर त्यो मैदानमा राख्दै गर्दा नै काम नलाग्ने गरि बिग्रिएको थियो । दुबो बिग्रिएपछि त्यसको चौतर्फी आलोचना हुन थालेको थियो । यद्यपि अहिले फेरि कोलकाताबाट नै नयाँ दुबो ल्याइएको छ ।

तर निर्माण कार्य भने सन्तुष्ट हुने किसिमले हुन सकिरहेको छैन । पोखरा रंगशालामा दुबो राख्ने र निर्माण कार्य निश्चित समय मै सकिए तापनि, त्यो दिगो र भरपर्दो नहुने धेरैको बुझाई छ ।

स्मरण रहोस, दक्षिण एसियाली खेलकुदको कुम्भमेला साग यहि मंसिर १५ गतेदेखि काठमाडौं र पोखरामा शुरु हुँदैछ । यद्यपि त्यसका लागि आयोजक मुलुक भएर पनि नेपालको तयारी भने खासै प्रभावकारी हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस

Loading...