रोमाञ्चक जितका साथ डिएमसी फाइनलमा

बुटवल (खेलदैनिक) । पेनाल्टी शुटआउटमा गोलरक्षक सन्देश गुरुङ नायक बन्दा डिएमसी जारी तेस्रो एनवाइसी कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–८, प्रदिपनगर स्थित जनभावना माविको खेलमैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा डिएमसीले साविक विजेत ाझरना स्पोर्टस् क्लबलाई पेनाल्टी शुटआउटमा ४–२ ले हरायो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलको २६औं मिनटमा अमिर श्रेष्ठको गोलबाट शुरुवाती अग्रता बनाएको डिएमसीले त्यसलाई दोस्रो हाफमा गुमाउन पुगेको थियो ।

उता दोस्रो हाफको ५८औं मिनटमा झरनाका लागि निशान सुनारले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । त्यसपछि खराब प्रकाशका कारण सोझै पेनाल्टीबाट नतिजा निकाल्ने निर्णय गरिएको थियो ।

पेनाल्टी शुटआउटमा डिएमसीका चारै खेलाडीले गोल गरेका थिए भने झरनाका दुई खेलाडीको प्रहार डिएमसीका गोलरक्षक सन्देश गुरुङले जोगाएका थिए । गुरुङ खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल न्यु सिर्जना युवा क्लब र फर्साटिकर युवा क्लबबीच हुने खेल संयोजक गोविन्द अर्यालले जानकारी दिए ।

नव एकता युवा क्लब, तिलोत्तमा–८, प्रदिपनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...