न्यु सिर्जनाको जितसँगै सेमिफाइनल समिकरण पूरा

बुटवल (खेलदैनिक) । संघर्षपुर्ण जित हात पार्दै न्यु सिर्जना युवा क्लब जारी तेस्रो एनवाइसी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–८, प्रदिपनगर स्थित जनभावना माविको खेलमैदानमा मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा न्यु सिर्जनाले प्रदेश ५ प्रहरी तालिम केन्द्रलाई १–० ले हरायो ।

न्यु सिर्जनाको जितमा खेलको अन्तिमतिर जमिर दिन मियाँले एक मात्र निर्णायक गोल गरे । मियाँ खेलको म्यान अफ द म्याच समेत घोषित भए । मंगलबारको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।

न्यु सिर्जनाले सेमिफाइनलमा अब बिहीबार उपाधिको दावेदार मानिएको फर्साटिकर युवा क्लबसँग खेल्नेछ । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल झरना स्पोर्टस क्लब र डिएमसी, तुल्सीपुरबीच हुने खेल संयोजक गोविन्द अर्यालले जानकारी दिए ।

नव एकता युवा क्लब, तिलोत्तमा–८, प्रदिपनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो ७ मंसिरका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...