विश्वकप छनौटमा माल्दिभ्सको दोस्रो जित

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप दोस्रो चरणको छनौटतर्फ दक्षिण एसियाली राष्ट्र माल्दिभ्सले आफ्नो समूहमा दोस्रो जित हात पारेको छ । मंगलबार मालेमा सम्पन्न खेलमा माल्दिभ्सले गुआममाथि ३–१ को जित निकालेको थियो ।

स्मरण रहोस, छनौट प्रतियोगितातर्फ समूह ए मा रहेको माल्दिभ्सले आफ्नो पहिलो जित पनि गुआम विरुद्ध नै हात पारेको थियो । त्यतिबेला माल्दिभ्सले गुआमलाई उसकै घरमा १–० ले हराएको थियो ।

मंगलबार माल्दिभ्सको जितमा अलि समूहले २३औं मिनटमा पहिलो गोल गरे । त्यस्तै ३८औं मिनटमा ट्रेभिस निक्लवले आत्मघाती गोल गर्न पुग्दा माल्दिभ्सले अग्रता दोब्बर पारेको थियो ।

उता ४९औं मिनटमा गुआमका लागि जोन मेटकिन्सले पहिलो गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर खेलको अन्तिमतिर इन्जुरी समयमा अलि अश्फाकले गोल गर्दै टोलीको शानदार जित पक्का गरे ।

यो जितपछि ५ खेलबाट ६ अंक जोडेको माल्दिभ्स चौथो स्थानमा छ । उता अंकविहीन गुआम भने पुछारमा छ । शिर्ष स्थानमा १२ अंक जोडेको सिरिया छ भने ७–७ अंक जोडेका चीन र फिलिपिन्स क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...