पेनाल्टीमा एपिएफसँग संकटा स्तब्ध

काठमाडौं (खेलदैनिक) । पेनाल्टी शुटआउटमा संकटा क्लबलाई हराउँदै विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब जारी तेस्रो चन्द्रागिरी मेयर गोल्डकप ए डिभिजन नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पुरानो नैकाप स्थित नैकाप रंगशालामा सम्पन्न खेलमा एपिएफले संकटामाथि ४–२ को पेनाल्टी शुटआउटबाट जित निकाल्यो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

पेनाल्टी शुटआउटमा संकटाका लागि अमित तामाङ र क्षितिजराज जिटीले मात्र गोल गर्न सफल भए भने मेसुको र रोमन लिम्बुले बललाई पोष्टको जाली चुमाउन असफल भएका थिए ।

उता एपिएफका लागि भने सुदिप सिख्रकार, नविन लामा, आशिष लामा र राजिप लोप्चनको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो । खेलमा एपिएफका गोलरक्षक अमृत चौधरी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितामा बुधबार आराम दिइएको छ । साथै बिहीबारदेखि क्वाटरफाइनल खेलहरु शुरु हुँदैछन् । बिहीबारको पहिलो क्वाटरफाइनल खेल ब्रीगेड ब्वाईज क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने खेल संयोजक रमेश बुढाथोकीले बताए ।

दिपशिखा युवा समूह, चन्द्रागिरी–१३, पुरानो नैकापको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ३ लाख २५ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...