थिम्पुमा चुकेको नेपाली टोली

काठमाडौं (खेलदैनिक) । थिम्पुको चिसो–चिसो मौसममा नेपाल र कुवेत दुवै टोलीले आफूलाई अभ्यस्त पार्न केही दिन अगाडी नै भुटान पुगेका थिए । नेपालको पहिलो होम म्याच भनिए तापनि एएफसीले दशरथ रंगशालामा विश्वकप छनौट दोस्रो चरणको खेलतर्फ कुवेत विरुद्धको खेल त्यहाँ आयोजना गर्न नदिएपछि नेपालले तटस्थ मैदानका रुपमा थिम्पुलाई रोजेको थियो ।

भौगोलिक र वातावरणीय पक्षले पनि नेपालका लागि थिम्पु पायक स्थान थियो । उता कुवेत भने थिम्पुको मौसममा त्यति भिज्न नसक्ने भएकैले उसले एएफसीलाई अन्यत्र खेलस्थल सार्न डेलिगेशन पनि गरेको थियो । तर अन्ततः एएफसीले एन्फा कै पक्षमा निर्णय गर्दै सो खेल थिम्पुमा गर्ने पक्कापक्की गर्यो ।

मंगलबार थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले कुवेत विरुद्ध तुलनात्मक रुपमा राम्रै प्रदर्शन गर्यो । त्यो प्रदर्शनलाई आधार मान्ने हो भने मंगलबार नेपालले गोल गर्न सक्ने खेल थियो । भनौ जित पनि सम्भव थियो । तर नेपाली खेलाडीहरु पटक–पटक चुके ।

उता कुवेतका अनुभवी स्ट्राइकर बडेर अहमद अल–मुतवाले पहिलो हाफकै २८औं मिनटमा आकर्षक गोल गरे । बक्स नजिकै नेपाली डिफेन्डरलाई जिल्याउँदै दाँया कुना च्यापेर गरेको आकर्षक प्रहारलाई नेपाली गोलरक्षक तथा कप्तान किरण चेम्जोङले ठम्याउन सके तापनि जोगाउन सकेनन् ।

अन्ततः सोही गोल खेलको निर्णायक बन्यो । भुटानी समर्थकको पनि बलियो साथ पाएको नेपालले सुखद नतिजा हात पार्नबाट भने चुक्यो । यो नतिजापछि ५ खेलबाट ३ अंक जोडेको नेपाल चौथो स्थानमा यथावत छ भने १० अंकका साथ कुवेत दोस्रो स्थानमा छ । हारका बावजुद नेपालको एएफसी एसियन कप छनौट वा प्ले अफ खेल्ने सम्भावना कायम छ ।

नेपालले अब सबै होम म्याच खेल्न बाँकी छ । त्यसमध्ये पहिलो खेल आगामी बर्ष (२०२०) को मार्च २६ तारीखका दिन चाइनिज ताइपेईसँग खेल्नेछ भने ३१ मार्चका दिन अष्ट्रेलियासँग तथा ४ जुनका दिन जोर्डनसँग अन्तिम खेल खेल्नेछ ।

समग्रमा मंगलकारको नतिजापछि धेरैको मनमा एउटै खेलिरहेको हुन सक्छ । थिम्पुमा चुकेको नेपाल ।


प्रतिक्रिया दिनुहोस

Loading...